१२ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ महानगरपालिका बौद्ध-६ महाँकालस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा १० वटा बेडको आइसोलेशन केन्द्र स्थापना गरिएको छ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको समन्वय र कामपा वडा नं ६ कार्यालयको नेतृत्वमा आर्ट अफ लिभिङ, श्री जनकल्याण माध्यामिक विद्यालय र विभिन्न संघ संस्थाको साझेदारीमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाबाट काठमाण्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले उक्त आइसोलेशन केन्द्र निर्माण गरिएको हो । संक्रमितहरु आफ्नै घर भएका हुन् की कोठमा बस्ने आफुहरुले पहिचान गरेर मात्र व्यवस्था गरिने भएको छ । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको उहाँको भनाई छ ।
त्यसैगरी वडा सदस्य जयराम पुडासैनीले उक्त आइसोलेशन केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मी सहितको व्यवस्था गरिएको बताउनु भयो।
उक्त आइसोलेशनमा विगत केही वर्षदेखि नर्सिङ पेसामा कार्यरत रहनुभएका श्वेता श्रेष्ठले सेवा प्रदान गर्नुहुनेछ । उहाँले कोरोना भाईरस संक्रमणका कारण अस्पातलहरुमा विरामिको चाँप बढेसंगै संक्रमितका लागि रगत अभावमा समस्या सिर्जना नहोस् भन्ने मनसायले ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ पनि संचालन गर्दै आउनुभएको छ ।
सामाजिक अभियान्ता समेत रहनुभएकि श्रेष्ठले ब्लड डोनेसन क्याम्पेन मात्र नभएर अब कोभिडका लागि समर्पित भएर काम गर्ने बताउनु भयो।












