३१ वैशाख, काठमाण्डौ। प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिँदै छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।
सपथ ग्रहण भने आज (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ । उनले अब ३० दिनभित्र विश्वासकाे मत लिनु पर्छ।त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ ।









