३० मंसिर, काठमाडाैं । टोखा नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्रका मुख्य सडकमा सडकबत्ती जडानका लागि ‘मेयर उज्यालो कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
टोखाले मेयर उज्यालो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु एक करोड ९८ लाख बजेट विनियोजन गरेको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले राससलाई जानकारी दिनुभयो । टोखाले उक्त कार्यक्रमअन्तर्गत सामाखुशी चोकदेखि ग्राण्डी अस्पताल हुँदै टोखा गेटसम्म, सहेन्सा चोकदेखि दाहालगौँडा हुँदै ग्रिनल्याण्ड चोकसम्म, गोँगबु चोकदेखि जालपा चोक हुँदै धनेश्वर मन्दिरसम्म, नेचर चोकबाट भगवती चोक हुँदै आसपास क्षेत्रमा सडकबत्ती जडान गर्न लागेको छ ।
यस्तै, नयाँ बसपार्कदेखि विष्णुमति करिडोर हुँदै भत्केकोपुलसम्म, जालपाचोकदेखि सूर्यदर्शन हाइट हुँदै भुतखेलसम्म, टोखा गणेशस्थानदेखि चण्डेश्वरी मन्दिरसम्मको बाटो, बसुन्धरा चोकदेखि सामाखुशी खोला हुँदै भेटघाटचोकसम्म, वसुन्धरा बजार क्षेत्र र सामाखुशी चोकबाट भण्डारी चोक ओमशान्ति सामुदायिक भवनसम्मका लागि वजेट विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ऊर्जाअन्तर्गत मेयर उज्यालो कार्यक्रमका लागि आवश्यक पर्ने सडकबत्तीका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको जानकारी दिनुभयो । सडकबत्ती जडानसँगै टोखाभित्र रातको समयमा हुने आपराधिक कार्यमा कमी आउने उहाँको भनाइ छ ।
यस्तै, टोखाले महानगरीय प्रहरीको समन्वयमा टोखाका मुख्य मुख्य चोकमा सिसी क्यामेरासमेत जडान गर्न लागेको छ । उक्त नगरपालिकाले टोखाको मुख्य चोकमा सिसी क्यामेरा जडानका लागि चालु आवमा रु एक करोड ५० लाख बजेटविनियोजन गरेको छ ।












