९ मंसिर, काठमाडौं । पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने अर्को म्यानपावर कम्पनीमा पनि मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाजिम्पाटस्थित होप इन्टरनेसनलमा विभागले छापा मारेको हो ।
छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र दूतावासका अधिकारी कार्यालयभित्र लुकेका छन् ।

अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ । कतारको नेपालस्थित कतारी दूतावासका कर्मचारी नै यसमा संलग्न रहेको देखिएको विभागका एक अधिकारीले बताए ।
विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तरवार्तामा लागि आएको भेटिएको थियो ।
कतारी पुलिसका लागि भन्दै सुरुमा महिनामा १ लाख र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै अहिले विभिन्न म्यानपावरमा यस्ता अन्तरवार्ता चलिरहेको छ । यस्तो काममा पठाउनका लागि म्यानपावर कम्पनीले युवासँग १२ देखि १५ लाख रुपैयाँ उठाउने गरेका छन् ।












