वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा नगरपालिकामा सुझाव पेटिका स्थापना

वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र वाग्मती प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज यहाँ शुभारम्भ गर्नुभएको छ ।

प्रमुख महतले सर्वसाधारण जनताले सम्बन्धित प्रहरी कार्यालयमा पुगेर आफ्ना समस्या राख्न खोज्दा सुनुवाइ नहुने र तत्काल अपराध नियन्त्रण गर्ने क्रममा प्रहरी सङ्गठनबाट कारबाही अगाडि बढाउन नसकिएको गुनासोलाई सुधार गरी जनताको विश्वास आर्जन गर्ने कार्यका लागि प्रहरीले आफूलाई मन, वचन, कर्मले कर्तव्यनिष्ठ भई अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले जनतालाई सहज पहुँचको आधारमा प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा गरिएको कामको मूल्याङ्कन सुझाव र सुधार गर्नुपर्ने कार्यका लागि सहज तुल्याइने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सुझाव पेटिका स्थानीय निकायमा राख्न उपयुक्त भएको र सो पेटिकाबाट प्राप्त सुझावको अध्ययन गरी सम्बन्धित कार्यालयमा कारबाहीका लागि पठाइने पनि जानकारी दिनुभयो ।

वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर, भरतपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिका रहेका छन् । रसुवा जिल्लामा भने नगरपालिका नभएकाले सम्बन्धित गाउँपालिकाबाटै सुझाव पेटिका राखी कार्य सञ्चालन गरिने पनि प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत रोशन थापाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]