राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि यहाँका नदी एवं चक्रपथ सफाइ अभियान भने पुरानै स्वरुपमा फर्कन थालेको छ । पाँच महिनासम्म पनि कोरोना नघटेपछि भौतिक दूरीसहित स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ अभियानलाई पुरानै स्वरुपमा फर्काउन थालिएको हो ।
गत चैत ११ गतेपछि माइकबाट नारा लगाउन बन्द गरिएकामा आजदेखि शुरु गरिएको छ । नारामा अभियानकर्मीले ‘म मेरो बासस्थान र वरपरको वातावरण सफा राख्न लागीपर्छु’ भनी शपथ खान्छन् ।
शङ्खमूल क्षेत्रको बुद्धनगरमा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा सफाइ गरिएको हो ।
वाग्मती सफाइ महाअभियानको ३७८औँ हप्ताका अवसरमा विसं २०७० जेठ ५ गते सफाइ महाअभियान शुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव पौडेलले अभियानकर्मीलाई शपथ गराउनुभएको हो ।
त्यस्तै पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । पशुपति क्षेत्रमा वाग्मतीको बहाव बढेकाले धेरै फोहर नभेटिएको उहाँले सुनाउनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ महाअभियानको ३३८ औँ हप्तामा गोठाटार पुलमुनिको नदी किनार दायाँबायाँ सफाइ गरिएको छ । त्यस क्षेत्रको नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको थियो । रुद्रमती सफाइ अभियानको ३३३ औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको पूर्वी भागमा सफाइ गरिएको छ ।भौतिक दूरी कायम गरी नदी किनारका बिरुवा गोडमेल समेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।
यसैगरी विष्णुमती सफाइ अभियानको ३०६ औँ हप्तामा नयाँबसपार्कबाट मनोहरतीर्थसम्म सफाइ गरिएको छ । यसअघिका दुई हप्तामा विष्णुमती किनारमा गरिएको वृक्षरोपणलाई निरन्तरता दिइएको छ । यसअघिका दुई हप्तामा १२३ बिरुवा रोपिएकामा आज २७ वटा रोपिएको छ ।
वाग्मती तिलगङ्गा खण्ड २६० औँ हप्ताको सफाइ गरिएको छ ।
आलोकनगर सफाइको १७७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी खुला स्थानमा रोपिएका बिरुवा संरक्षण एवं गोडमेल गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै गोदावरी खोला सफाइ अभियानको ७५औँ हप्तामा गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरस्थित धर्मटार क्षेत्रमा भौतिक दूरी कायम गरी सफाइ गरिएको सफाइ संयोजक बेबी राजभण्डारीले बताउनुभयो ।









