टोखामा मनोहर तीर्थ पुल निर्माण सम्पन्न

काठमाडौँको टोखामा रु तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ । नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुल टोखा नगरपालिकाको रु दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको रु २७ लाखको लागतमा निर्माण सम्पन्नता पाएको छ ।

नगरप्रमुख अधिकारीको अनुसार टोखा नगरपालिकालाई विकास र समृद्धि बनाउने लक्ष्यअनुसार विकासनिर्माणका कामलाई प्राथमिकता दिइएको छ । उक्त पुल निर्माणसँगै झोर, साङ्ला, फुटुङ र नुवाकोट आवतजावतमा सहज भएको छ । विसं २०७६ जेठमा एएनएस र केएम जेविसँग सम्झौता गरेर असारमा शिलान्यास भएको १५ मिटर लामो पुल एक वर्षमा निर्माण सम्पन्न भएको हो ।

मनोहर तीर्थ पुल स्थानीय तहको गौरव गर्न लायक योजना भएको उहाँको भनाइ छ । पछिल्लो समय टोखाले सडक कालोपत्र, पुल निर्माण, खानेपानी, ढल व्यवस्थित बनाउने काम गर्दै आएको छ । टोखाले चाँडै नै बाँनियाटार र मेरिगोल्ड पुलसमेत निर्माण गर्दैछ ।