काठमाण्डूको तीन नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण गरी व्यवस्थित बस्ती विकास गर्न जोरपाटीमा कार्यालय स्थापना गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १, २ र ४ र शङ्खरापुर नगरपालिकाको वडा नम्बर ९ भित्रको झण्डै २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो ।
यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड पुलिङ) आयोजना सञ्चालन गर्न कार्यालय स्थापना गरिएको आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो । आयोजना सञ्चालन गर्न तीनैवटा नगरपालिकाका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधि सदस्य रहेको समिति गठन गरिएको छ ।
समितिको संयोजकमा धेरै वटा वडा पर्ने कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापालाई जिम्मेवारी दिइएकोे छ । राजधानीको उत्तर–पूर्वी भेगमा तीव्र रूपमा अव्यवस्थित बस्ती विकास हुन थालेपछि जग्गा एकीकरण गरी व्यवस्थित गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाटो घाटो नपुगेका स्थानमा कम्तीमा ६ मिटरको सडक पु¥याइने आयोजनाले जनाएको छ ।