सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङस्थित देउरालीका फुर्पा वाइबा टुङ्ना बजाएर पर्यटक लाई स्वगत गरी आकर्षित गराउँछन् । प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरीमा जाने जो सुकै यात्रु टुङ्ना बाजेको होम स्टे खोज्दै बास बस्ने गर्छन् । टुङ्ना बाजे भनेर चिनिने बाइवाले टुङ्ना अर्गानिक फार्म एण्ड होमस्टे सञ्चालन गर्दै आउनुभएको छ । बुबा बाजेको पाला देखि चौँरी र बाख्रा गोठ राख्दै आएको ठाउँमा विगत २० वर्ष अघि सानो कटेरो बनाएर अहिले होम स्टे सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

६५ वर्षीय वाइबा होम स्टे सङ्गै चोया, काठ बाट बनेका विभिन्न सामाग्री बनाउँदै दैनिकी कटाउनु हुन्छ । उहाँले बनाउनु भएको सामाग्रीहरू सुन्दर तरिकाले घरमा सजाएर राखेको देख्दा सङ्ग्रहालय मा नै पुगेको महसुस हुन्छ । उहाँले टुङ्ना, डम्बु, झाँक्री तथा लामाले प्रयोग गर्ने ढ्याङ्ग्रो, डोको, थुन्छे, भकारी, डाली त्यस्तै फुल तथा गुच्छा राख्ने सजावटका सामग्री गरी दर्जनौँ प्रकारका सामाग्री बनाउने गर्नुहुन्छ ।
” पाँचपोखरी घुम्न आउने पर्यटकहरूले चिनो सम्झी डम्फु, टुङ्ना किनेर लानुहुन्छ । त्यस्तै ढ्याङ्ग्रो, डोको, थुन्छे, डोको, भकारी जस्ता सामाग्री स्थानीयले नै अर्डर गर्नुहुन्छ” उहाँले भन्नुभयो । एउटा झाँक्रीको ढ्याङ्ग्रोलाई १२ हजार , लामाले प्रयोग गर्ने ढ्याङ्ग्रोलाई जोडिको ५० हजार त्यस्तै टुङ्नाको ६ हजार सम्म बिक्री गरेको उहाँले बताउनु भयो ।
बाख्रा गोठ राख्दा मरेका बाख्राको छालाको सदुपयोग गरी टुङ्ना, डम्फु, ढ्याङ्ग्रोमा प्रयोग गरिएको उहाँले भन्नुभयो । त्यस्तै चोयाको सामग्री बुन्न लाई उहाँले निगालो खेती पनि गर्नु भएको छ तर आफू एक्लैले धेरै बुन्न नसक्दा खेर गइरहेकाले दुख व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले भन्नुभयो ” कुनै समयमा यस गाउँमा प्रत्येक घरको चौँरी, बाख्रा, भेडा गोठ राख्ने चलन थियो अहिले गोठ राख्ने क्रम कम हुँदै गयो जसले गर्दा गोठमा प्रयोग हुने डाली,मदानी, छुर जस्ता सामाग्री लोभ हुँदै गएको छ । त्यस्तै पानी पर्दा प्रयोग गर्ने घुम जस्ता गाउँघरमै तयार हुने सामग्रीको प्रयोग हुन छोडिसकेको छ । नमुनाको लागि भए पनि लोभ हुन लागेको सामग्रीहरू बनाएर दिन कटाउने गरेको छु ।”
काठ तथा चोयाको सामग्री बुनेर ३५ वर्ष बिताइसकेका बाइवाले बुढेसकालमा पनि बुन्न छाडेका छैनन् । आफ्नो सिपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने रहर छ तर अहिलेका युवा पुस्ताले चासो नदिएको उहाँले भन्नुभयो । यस्ता पुराना सिपकलाको नयाँ पुस्ताले बेवास्ता गर्दा अवश्य लोभ हुने देखिन्छ ।









