काठमाडौं — थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई आकलन गरी आफ्नो स्वीकृत शय्याको २० प्रतिशत बढी शय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो।
कोभिड बिरामीको संख्या न्यून भए पनि कोभिडका लागि छुट्ट्याइएको बेडलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो।
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा कम्तीमा कुनै दुई लक्षण देखा परे तुरुन्त अस्पताल लैजानुपर्ने विशेषज्ञ चिकित्सकहरूको सुझाव छ।
यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनुलगायत छन्।
यो सामान्यतया बालबालिकामा पनि कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।











