२२ वैशाख, काठमाण्डौ। चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमीसम्म साँखु बजार क्षेत्रमा मनाउने गरिन्छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगन गरिएको थियो ।

जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहिनी र व्याघ्रिनीका चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ । जात्राका देवीदेवता बज्रयोगिनी मन्दिर परिसर पु¥याएपछि ‘थहाँ बिज्या’ को कार्यक्रम सकिन्छ । तीन दिनपछि राजारानीका तर्फबाट मन्दिरमा पूजासहित भोज खाने गरिन्छ । चार दिनपछि पुनः राजाको खड्ग लिएर साँखु बजार परिक्रमा गरिन्छ । राजाको खड्ग बिदाइसँगै साँखु जात्रा समापन भएको छ ।


तस्बिर : सीजल्स फोटोग्राफीको पेजबाट साभार












