१५ चैत्र, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा सवारी चेकजाँचमा आज कडाइ गरेको छ । होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन चेकजाँचमा कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी चेकजाँचमा कडाइ गरिएको हो । काठमाण्डौ उपत्यकामा ८ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले होली पर्व मनाउने नाममा सर्वसाधारण तथा विदेशीमा जबर्जस्ती रङ तथा रसायनयुक्त पदार्थ दल्ने, फोहोर पानी हाल्ने, छ्याप्ने, लोला हान्ने गरे, अभद्र व्यवहार गर्ने, मापसे, लागुपदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, अशान्ति मच्चाउने गरे सार्वजनिक मुद्दा चलाई कारबाही गर्ने जानकारी दिएको छ ।
यसपालि पहाडी क्षेत्रमा चैत १५ गते आज र तराईमा भोली चैत १६ गते एकअर्कालाई थरीथरीका रङ लगाएर तथा भोजभतेर गरेर धुमधामका साथ रङहरूको पर्व होली मनाइँदै छ ।









