८ फागुन, भरतपुर। भरतपुरमा फोहर न्यूनीकरण तथा व्यवस्थापनका लागि कम्पोष्टिङ करेसाबारी एवं कौसीखेतीसम्बन्धी तालीम सम्पन्न भएको छ । नेपाल विकास समाज र भरतपुर महानगरपालिका वडा नं ५ को आयोजनामा गत बुधबारदेखि शुरु भएको दुईदिने फोहर व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न भएको हो । तालीमको भरतपुर वडा नं ४ ले संयोजन गरेको थियो ।
नेपाल विकास समाज भरतपुर–५, विकासचोकमा आयोजित सो कार्यक्रममा भरतपुर– ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले फोहर व्यवस्थापन सबैको जिम्मेवार भएकाले हरेकले आफ्नोआफ्नो ठाउँबाट फोहरको उचित व्यवस्थापन तथा न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल विकास समाजका संस्थापक सदस्य कालिदास न्यौपानेले संस्थाको परिचय दिँदै २०७० सालदेखि नै निरन्तररुपमा समाजको हकहितका लागि लागिपरेको र हालसम्म सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
नेपाल विकास समाजद्वारा भरतपुर महानगरपालिका वडा नं १ देखि १० सम्म, २०७७ माघ–फागुनमा गरेको सर्वेक्षणअनुसार प्रत्येक दिनप्रति परिवार ५०० ग्राम फोहर उत्पादन हुने देखिएको छ । ती फोहरमा भान्छाबाट निस्कने फोहर र प्लाष्टिकजन्य फोहरको मात्रा सबैभन्दा बढी रहेको पाइएको नेपाल विकास समाजकी कार्यक्रम संयोजक सिम्रन काफ्लेले जानकारी दिनुभयो ।
तालीममा भरतपुर–४ यज्ञपुरी टोल विकास संस्था र शिवघाट टोल विकास संस्थाबाट २० जना सहभागी भएका थिए । भरतपुर महानगरभित्रका १ देखि १० वडामा गरिएको घरेलु फोहर अवस्था चित्रणको अध्ययनको नतिजाका आधारमा र वडा नं ४ को समन्वयमा सहभागी छनोट गरिएको थियो ।











