२६ पुष, बारा । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । जिल्लाको निजगढ नगरपालिका( १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।
समाचारमा स्रोत अनुसार ८-१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली चलाएको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको बताएको छ ।
शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो । त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ ।
तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि प्रहरीले बरामद गरेको छ ।
तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ । फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









