२४ पुष, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसबाट तीन किलो अवैध लागुऔषध चरेशसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका–७ का २४ वर्षीय कुमार विक रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मित्रनगरस्थित एक होटलमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा चरेश फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
यसैबीच ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकबाट नियन्त्रित लागुऔषध १४१ एम्पुल डाईजेपाम, १४१ एम्पुल बुप्रेनोर्फिन र १४१ एम्पुल फेनारगनसहित सप्तरी खडक नगरपालिकाका ४५ वर्षीय रामचन्द्र मण्डललाई पनि पक्रउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई फक्राउ गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।












