Ad #144479

१९ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ललितपुरस्थित मुख्यालयमा भर्खरै सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गराएपछि पुष ७ गतेदेखि सुरु भएको कार्यसमिति बैठककै निरन्तरता हो ।

पुष १० गते बसेको बैठकले पुष १३ गते देशका १६५ निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको थियो । ओलीको कदमलाई पार्टी भित्र दुई थरि नेताले अलग अलग रुपमा लिएका छन् ।

संस्थापन पक्षले ओलीको कदम अलोकतान्त्रिक भएपनि यसको छिनोफानो सर्वाेच्च अदालतबाटै भएपछि मात्रै आफ्नो पोजिसन क्लियर गर्नुपर्ने तर्क गरेकोछ भने संस्थापन इतर पक्षले भने तत्कालै सडक आन्दोलनमार्फत ओलीको असंवैधानिक कदमको विरोध गर्नुपर्छ भन्ने रहेको छ ।

यही विवादका कारण बैठक लामो समयदेखि अवरुद्ध थियो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सडक आन्दोनको नयाँ कार्यक्रम घोषणा गर्न दबाब सिर्जना गर्ने तयारी गरेको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने अहिले पर्ख र हेरको अवस्थामै रहेकाले धेरै हतार गर्न नहुने अडान लिइरहेको छ ।