Ad #144479

१७ पुष, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, अधिकार र कार्यविधि’ सम्बन्धी ‘पहिलो संशोधन’ अध्यादेश, २०७७ पेश भएको छ । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गर्नुभयो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ‘नियम’, अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी ‘कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय’ ‘पहिलो संशोधन’ अध्यादेश २०७७, सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ अध्यादेश, २०७७ बैठकमा पेश गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेश गर्नुभएको हो ।

बैठकमा औषधि ‘तेस्रो संशोधन’ अध्यादेश, २०७७ पेश गरिएको छ । उक्त अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा पेश गर्नुभएको हो ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गरिएको छ । उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेश गर्नुभयो ।