१६ पुष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कार्य असंवैधानिक भए पनि आन्दोलन गरेर अदालतको प्रक्रियालाई प्रभावित भने पार्न नहुने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा कांग्रेसको सूचना तथा सञ्चार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले अचानक संसद् विघटन गरेको कदम भने असंवैधानिक नै भएको बताए ।
उनले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतको फैसला पर्खनुपर्ने बताए । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्ने हिसाबले कदमहरू भने गर्न नहुने उनको ठहर छ ।
उनले भने, ‘हामीले अदालतमा रहेको विषयलाई आन्दोलनबाट यसो गर, उसो गर भनेर धम्क्याउनु र तर्साउनु हुँदैन । अदालतको निर्णयलाई पर्खनुपर्छ ।’
उनले यो कदम असंवैधानिक मात्र नभई अलोकतान्त्रिक चरित्रको भएको समेत बताए । उनले यस कदमको विरोधमा कांग्रेसले देशभर विरोध कार्यक्रम गरेर आवाज उठाइरहेको उल्लेख गरे ।
कांग्रेसले पुस १६ लाई मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । कांग्रेसले ४५औँ मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।












