ओलीले पतनको मार्ग रोजेको भृकुटीमण्डपबाट चेतावनी

१४ पुष, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले ‘असंवैधानि क’ रूपमा संसद विघटन गरिदिएपछि सत्तारूढ दल नेकपाको एउटा पक्षले सडकको सहारा लिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मंगलवार सडकबाट प्रधानमन्त्रीसमेत रहेका अर्को पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिए पतन निश्चित रहेको चेतावनी दिएको हो ।

मंगलवार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतका नेताहरूले ओलीले पतनको मार्ग रोजेको भन्दै चर्को आक्रोश पोखेका थिए ।

यस्तै विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग ुबयलगाडाुको सिद्धान्त रहेको भन्दै तिखो शब्दमा आलोचना गरेका थिए । प्रचण्डले पार्टी एकताको तीन वर्ष बित्दा नबित्दै आफैंले बनाएको प्रधानमन्त्रीले संविधान र गणतन्त्रमाथि प्रहार गरेकोमा आफूले क्षमा माग्न चाहेकोसमेत उल्लेख गरे ।

यस्तै, विरोध सभामा बोल्दै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटन गरेकोमा पश्चाताप गरेर प्रतिनिधि सभा पुनःस्थापनाका लागि तयार भए सबै कुरा बिर्सिन तयार रहेको बताए । उनले संविधान विपरीतका कदम फिर्ता नगरे ओलीको पतन निश्चित रहेको दाबी गरे । यद्यपि संसद् विघटन फिर्ता लिने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन ।

 यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले घर-घरमा ल्याउने भनिएको चुल्हो प्रधानमन्त्री केपी ओलीले आफ्नै घरमा लगेको आरोप लगाए । विरोध कार्यक्रममा बोल्दै खनालले केपी ओलीले घर(घरमा ल्याउने भनेको चुल्हो खै भनेर प्रश्न पनि गरेका छन् ।

यस्तै, विरोध सभामा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले विघटित प्रतिनिधि सभाको बैठक सुचारू नहुँदासम्म आफूहरूको आन्दोलन नरोकिने बताए । भृकुटीमण्डपमा गरिएको विरोध सभाको अध्यक्षता गर्दै आन्दोलन मूल आयोजक समितिका संयोजक समेत रहेका श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम नसच्चिँदासम्म आन्दोलन जारी रहने बताएका हुन् ।

 यस्तै, नेकपाकी स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश सभा सांसद अष्टलक्ष्मी शाक्यले सरकारको सर्वसत्तावादी कदमविरुद्ध शुरू भएको आन्दोलन सफल भएर छाड्ने दाबी गरिन् ।

शाक्यले राजाविरुद्धको आन्दोलनमा पनि आफूहरू सडकमै उत्रिएको स्मरण गरिन् । उनले ओली कमरेड नरहेको आरोप लगाइन् । ुजनताको अधिकार खोसेर ओली कमरेड रहेनन् । उनी निरंकुश सामन्ती शासक ओली बने । जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन,ु शाक्यले आक्रोश पोखिन् ।

 यस्तै, स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय नसच्चिएसम्म आफूहरूले सडक आन्दोलन गरिरहने बताए । विरोध सभामा उद्घोषण गरेका नेता भट्टराईले संविधान नसच्चिँदासम्म आफूहरूले आन्दोलन कायम राख्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली सरकारका निवर्तमान मन्त्री समेत रहेका भट्टराईले ओलीले संविधानमाथि कू गरेको आरोप समेत लगाए । नेकपाले आज प्रधानमन्त्रीविरुद्ध देशव्यापी प्रदर्शनका कार्यक्रमहरू गरेको थियो । वागमती प्रदेशका सबै विरोध सभा काठमाडौँमा गरिएका थिए भने अन्य प्रदेशका सबै जिल्लाहरूमा विरोध सभा गरिएको हो ।

[sidebar name="button post"]