जापानमा पनि विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक

१२ पुष, एजेन्सी जापानले नेपाल लगायतका मुलुकहरुबाट जाने विदेशी नागरिकहरुलाई देशभित्र प्रवेश गर्न नदिने भएको छ । जापानमा कोरोना भाइरसको नयाँ प्रकार भेरियन्ट भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो ।

जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् ।

तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

[sidebar name="button post"]