आदिकवि भानुभक्त क्याम्पसका छात्रालाई सेनेटरी प्याड

९ पुष, दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका छात्रालाई पठनपाठनमा नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएको छ । छात्रालाई नियमित क्याम्पस आउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित नगरपालिकाले क्याम्पसलाई दुई हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको हो ।

क्याम्पसमा करीब दुई हजार छात्रा अध्ययनरत छन् । त्यसमध्ये ९०५ भन्दाबढी छात्रा ग्रामीण भेगका छन् । उनीहरुमध्ये धेरै जना महिनावारी भएका बेला तीनदेखि चारदिनसम्म क्याम्पसमा अनुपस्थित हुने गरेका छन् ।

समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् । कूल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाका क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ ।

क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ । क्याम्पसले वार्षिकरुपमा रु २० लाख गरीब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिवापत वितरण गर्ने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन ९क्युएए० को मान्यता प्राप्त गरिसकेको छ । विसं २०४३ मा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुनबेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।

क्याम्पस सञ्चालनको शुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लबकै एक लाख डलर सहयोगमा विज्ञान प्रयोगशाला भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

[sidebar name="button post"]