९ पुष, दमौली । इनरह्वील क्लब अफ दमौलीले व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय माध्यमिक विद्यालयका चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
आर्थिक अवस्था विपन्न भएका छात्रछात्रालाई चिसो मौसममा विद्यालय आउन सहज पुगोस् भन्ने उद्देश्यका साथ स्वीटर वितरण गरिएको क्लबकी पूर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।
न्यानो कपडा वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले चेपाङ बालबालिकाको उत्थानका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सोही क्रममा श्रेष्ठले व्यक्तिगततर्फबाट विद्यार्थीलाई ३० थान टोपी सहयोग गर्नुभएको थियो ।
सोही विद्यालयमा अध्ययनरत बालबालिकाका लागि रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ । क्लबकी अध्यक्ष आशा क्षेत्रीले क्लबको वार्षिक कार्यक्रमअन्तर्गत बालबालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्थापित संस्थाले बालबालिकाको शैक्षिक विकासमा हरेक वर्ष सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
न्यानो पोशाकको अभावमा कठ्याङ्गिँ्रदै विद्यालय आउन बाध्य भएका बालबालिकालाई क्लबले गरेको सहयोगले राहत मिलेको विद्यालयका प्रधानाध्यापक रोशनी थापाले बताउनुभयो । “न्यानो कपडा नहुँदा विद्यार्थी चिसो मौसममा कहिलेकाहीँ विद्यालय नआउने समस्या छ”, उहाँले भन्नुभयो, “न्यानो कपडा सहयोगले उनीहरुको पठनपाठन नियमित गराउन सहयोग पुग्छ ।”









