एजेन्सी । पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ।
सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका छन्।
उनकी पत्नी सोमबार तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख गरिएको छ । सोही रिसमा उनले उक्त दिनदेखि नै पत्नी त्याग गर्ने बताएका हुन् ।
त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे। उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न समेत भनेका छन्। उनले भने, ‘कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू। म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु।’









