नेपाल र नेपालीको पहिचान बेग्लै छ । देश, भेषभुषा, कला संस्कृती आफ्नै छ । तर विश्वमा नेपाली खानालाई भारतीय खानाका रुपमा हेर्ने चलन छ ।
अन्तराष्ट्रिय बोलिचालीमा पनि नेपाललाई भारत खण्डकै रुपमा लिइन्छ । नेपाल र नेपालीपनलाई विश्वमा परिचीत बनाउन नसक्दा यो समस्या हो । तर, बेलायतमा रहनुभएका एक नेपाली सेफ सन्तोष शाहले बेलायतमा बिबिसी मास्टर सेफ अफ युके २०२० मा सहभागी भई नेपाली भोजनलाई परिचीत मात्र नभई उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ ।
उहाँ एसिया महादेशबाटै यो स्थान सम्म पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ । अहिले उहाँको चर्चा र तारिफ भैरहेको छ ।
जन्म
सन्तोष शाहको जन्म २०४२ साल कार्तिक २२ गतेका दिन, प्रदेश नम्बर २ सिराहाको कर्जन्हा गाँउमा भएको हो । शाहका सात दाइदिदी मध्ये उहाँ कान्छो हुनुहुन्छ । उहाँ दाइदिदीसँग हुर्कनुभयो । ५ वर्षको उमेरमा शाहका बाबु बित्नुभयो । बाबुको निधनपछि परीवारका सबै सदस्यहरू आ–आफ्नो बाटो समाउदै लाखापाखा लागे । अब परिवारमा सन्तोष शाह र उहाँको आमा हुनुहुन्छ ।
बिगतका संर्घष
शाहको परिवारले गरिबी नै खेपेको हो । कति दिन त आधा पेट खाएर नै बिताउनुपर्यो । शाह भन्नुहुन्छ,‘नेपालीहरू संर्घष लिएरै जन्मन्छन् ।’ जीवन संर्घष खेप्दै गर्दा उहाँले नौ वर्षको उमेरमा प्लास्टिकको झोला बेच्ने काम थाल्नुभयो । ११ वर्षको उमेरमा साईकलमा पाउरोटी बेच्न थाल्नुभयो । उहाँ एसएलसीमा फेल हुनुभयो । ‘फेरी एसएलसी दिन मन लागेन ।’ उहाँ भन्नुहुन्छ,‘गरिबले पढेर डाक्टर या इन्जिनिएर हुने होइन भन्ने लाग्यो ।’ अनि उहाँ गाउँका अरु जस्तै भारतमा कामको खोजिमा हिड्नुभयो ।
यसै क्रममा उहाँ एउटा ५ तारे होटेलमा भाडा माझ्ने काम गर्न थाल्नुभयो । त्यहाँ उहाँको पारिश्रम ८ सय भारू थियो । उहाँको लागि यो धेरै थियो । उहाँले काम गर्ने होटेलमा धेरै सेफले काम गर्थे र उनीहरूको तलब दोब्बर १६ हजार भारू थियो । यसले उनको मनलाई लोभ्यायो । र मनमनै सेफ बन्ने इच्छा जागेको उहाँ बताउनुहुन्छ । त्यहाँ म्यानेजरलाई आफू हेल्पर बन्न चाहेको बताएपछि त्यसै अनुसार भयो ।
कामकै क्रममा उहाँ एक वर्षमा अर्को होटेलमा काम गर्न थाल्नुभयो । जहाँ उहाँ होटलको अर्को तल्लामा क्याटरस्ङको पढाइ हुने गरेको रहेछ । म्यानेजरलाई आफु त्यो कक्षामा बस्न चाहेको र आफ्नो पारीश्रमिकबाट काट्दा हुने सुनेपछि म्यानेजरले बिना पैसा नै उनलाई पढाउने निधो गरे । शाह भन्नुहुन्छ,‘यो नै मेरो भाग्य उदय थियो । डिप्लोमा तहको पढाई सकियो ।
मेहनतको फल
उहाँ सेफको रूपमा स्थापित हुनुभयो । फुड फेस्टिभलमा उहाँले आफ्नो परीकारले धेरैको मन जित्न सफल हुनुभयो । एक गुजराती व्यापारीबाट उहाँलाई लण्डनबाट आउनका लागि प्रस्ताव आयो र उहाँले लण्डनको रेष्टुरेण्टमा काम गर्न थाल्नुभयो ।
अहिले बिबिसीको मास्टर सेफ अफ युके २०२० मा सहभागी भएसँगै उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । उहाँले नेपाली भोजनलाई विश्व समुदायमा परिचीत बनाउन भूमिका खेल्नुभएको छ ।
स्रोत : बिबिसी









