६ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोक पुगेर प्रचण्डले पदबाट राजीनामा दिएर आफूलाई साथ दिन आग्रह गरेका हुन् । प्रचण्डले नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेका हुन् ।
बादलले आइतबार मन्त्रीबाट राजीनामा नदिएपछि उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको ठानिएको थियो। बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएका थिएनन्। बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका थिए।
उक्त छलफलमा बादलले आज साँझसम्म विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएको नेकपा केन्द्रीय सदस्य दीलिप प्रजापतिले बताए।
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बादलले दिउँसोसम्म छलफल गरेर आफू एउटा निष्कर्षमा पुग्ने भनेको बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका थापाले आइतबार प्रचण्ड माधवकुमार नेपाल पक्षीय मन्त्रीसँगै राजीनामा नदिएपछि उनले कित्ता क्लियर गरेको ठानिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको आफू पक्षीय सांसदहरूको भेलामा उनी नगएपछि थापाले अब कतातिर उभिन्छन् भन्ने चासो बढेको छ।












