Ad #144479

६ पुष, काठमाडाैं । संसद विघटनविरुद्ध प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सिंहदरबारअघि प्रदर्शन गर्न पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ ।

आज बिहान प्रदर्शनको लागि सिंहदरबार पुगेको कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ ।उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा गरेका थिए ।

यता प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई भेटि सुरक्षा व्यवस्था चुस्त बताउन आइतबार बेलुका नै निर्देशन दिएका छन् । तर सुरक्षा सतर्कता बढाइए पनि देशभर सोमबार पनि प्रदर्शन जारी छ ।

संविधानविद तथा संवैधानिक कानूनका ज्ञाताहरुले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक रहेको विश्लेषण गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दायर भएको छ ।