धीरुभाई
२७ मंसिर सप्तरी । सप्तरीको गोरगामा अज्ञात समूहले शनिबार बिहान एक सवारी साधनमा आगजनी गरेको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरगमा स्थित आफ्नै घर अगाडी पार्किङ्ग गरी राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीय बेचन मुखियाको उक्त पिकअप भ्यानमा बिहान करिब १ बजेको समयमा अपरिचित ब्यक्तिहरुको एक समुहले आगजनी गरेको हो । आगजनीले गाडीको भित्री भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने बाहिरको आगाडी भाग जलेको बताइएको छ । पिकअप जलेर नष्ट हुँदा करिब २४ लाख रुपियाँ भन्दा बढिको क्षति भएको बताइएकोे छ ।
घर अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर गाडीमा आगो सल्काइएको घटनाको प्रकृतिले देखिएको पीडित मुखियाले बताए । व्यक्तिगत राजनीतिक रिसइवीको प्रतिशोधमा गाडीमा आगजनी गरिएको हुन सकिने उनले अनुमान गरे ।
स्थानीयवासी, प्रहरी तथा राजविराज नगरपािलकाको बारुणयन्त्रको सहयोगमा पिकअपको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तत्काल आगजनीको कारण नखुलेको भएपनि घटनाको थप अनुसन्धान कार्य जारी रहेका सप्तरी प्रहरीले बताइएको छ ।












