२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को स्थायी कमिटी बैठक सुरू भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले सेतोपाटीलाई जानकारी दियो।
स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।
यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ।
यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।
बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्। बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्याएका थिए।









