नेकपाभित्र पत्रयुद्ध सुरु, नेताहरु आ–आफ्नो गुटको रणनीतिमा व्यस्त

१५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेपछि पाटीभित्र पत्रयुद्ध सुरु भएको छ । सचिवालय बैठकको पूर्वसन्ध्यामा नेताहरु आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त छन ।

प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । यता ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।

बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे ।

अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ ।

यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ । प्रस्तावकै बारेमा शनिबारको सचिवालय बैठकपछि प्रचण्डले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेका छन् ।

सबै डकुमेन्ट स्थायी कमिटी बैठकको छलफल विषय बनाइने तयारी भए पनि ओलीले लगाएको आरोपबारे प्रचण्डले भोलि बस्ने सचिवालय बैठकमा कुरा उठाउने भएका छन् । तर, आफू माथि आरोप लगाइएको डकुमेन्ट फिर्ता हुने वा भाषा संशोधन गरिनुपर्ने ओलीको मागको भने सुनुवाइ नगर्नेमा प्रचण्ड पक्षमा अडिग देखिन्छ ।

[sidebar name="button post"]