भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जना पक्राउ

१५ मंसिर, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोटेश्वरस्थित स्काई ज्वेलर्स सञ्चालक काठमाडौं महानगरपालिका–३२ बस्ने तेह्रथुम छथर गाउँपालिका–४ घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं महानगरपालिका–१५ बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षीय गंगा बहादुर मगर छन्।

विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ सिनांमगलबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५०० रुपैयाँ फेला परेको थियो।

हिरासतमा राखेर थप अनुसन्धान गर्ने क्रममा राजश्व छलेर ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेपछि ज्वेलर्सबाट करिब १४९ दशमलव ९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ। उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

[sidebar name="button post"]