एलन मस्क विश्वकै दोश्रो धनाढ्य बन्न सफल

९ मंसिर, काठमाडौं । एलन मस्क विश्वकै दोश्रो धनाढ्य बन्न सफल भएका छन्। बिल गेट्सलाई पछार्दै मस्कले दोस्रो स्थान कब्जा गरेका हुन् । मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै मंगलबार उनले धनाढ्य सूचीमा दोस्रो स्थानमा आफ्नो नाम चढाएका हुन्। मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए।

खासमा उनी अन्तरिक्षमा रकेट पठाउँछन् । स्पेस एक्स कम्पनीबाट उनले निर्माण गरेका रकेट नासाले उडाउने गरेको छ । सँगै उनले कार कम्पनी टेस्ला पनि सञ्चालन गर्छन् । उनी विद्युतीय कार उत्पादन गरिरहेका छन् ।

ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा थिए । अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन्। त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाचौं स्थानमा पुगेका छन्। बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर धेरै छ।

मस्कको सफलताको पछाडि टेस्लाको सेयर मूल्यमा आएको उछाल प्रमुख रह्यो। टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले लेखेको छ। टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो।

ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ। ४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

[sidebar name="button post"]