Ad #144479

७ मंसिर, विराटनगर । मोरङको विराटनगरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ । आइतबार बिहान ४ बजे विराटनगर महानगरपालिका १७ मटेरुवामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो ।

शुरुमा प्रहरीसँग तस्करको झडप भएको थियो । पछि झडप बढेपछि प्रहरीले हवाई फायर गरेर तस्करको समूहलाई तर्साएको थियो । झडपका क्रममा एक जना जवान घाइते भएका छन् ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने प्रयास गरेको थियो । तर नियन्त्रण प्रयास गर्दा उनीहरु झडपमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार तस्कर समूहकी एक महिला पक्राउ परेकी छिन् ।

भारतबाट अवैध रुपमा ल्याउदै गरेको एक बोरा कम्मरमा लगाउने पेटीसहित ३३ वर्षीया महिला रविना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको उनले बताए ।