धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।
यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाउने तयारीमा जुटेका छन् ।
यसका साथै छठ मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छ । भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलिदेखि शुरु हुने भएको छ ।
अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलि बुधबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।
यस पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।









