पहिरोका कारण दुई हप्तादेखि बन्द गुल्मीको रिडी–रुद्रवेणी सडक हिजो बेलुकादेखि खुलेको छ । रुरु क्षेत्र गाउँपालिका एक विष्णुपञ्जर नजिकै सडक माथिबाट चट्टान सहित खसेको ठुलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले जानकारी दिनुभयो ।
पहिरोले दुई सय मिटर भन्दा बढी सडक पुरेकोे थियो । पटक पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको उहाँले बताउनुभयो । सडक खुलाउन रिडी र रुद्रवेणी दुवै तर्फबाट चार दिनसम्म जेसीभी र एक्साभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् ।
बाटो बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्न सहित गाडी बिच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । रिडी–रुद्रवेणी सडक जिल्लामा सबै भन्दा धेरै गाडी चल्ने व्यस्त सडक अन्र्तगत पर्छ ।











