असाेज २२,रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक झण्डै तीन महिनापछि खुलेको छ । वर्षाको कारण सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएपछि गएको असार मसान्तदेखि सडक बन्द थियो ।
प्राविधिक रूपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन ल्याइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक खुलेसँगै गाडी चल्न थालेका छन् । २०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । नेपाल, चीन र भारत त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन ।
सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो । वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नुपरेको कारण निर्माणको काम पछि धकेलिएको थियो ।
यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।









