कागेश्वरीमा असाेज ११ गतेदेखि विद्यालय खुल्ने

कृष्ण वाग्ले

असाेज ५, काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिकामा असाेज ११ गते आइतबार देखी विद्यालय खुल्ने भएका छन् । कक्षा १ देखी कक्षा १२ सम्म नै विद्यालय संचालन गर्ने निर्णय भएको हाे। नगरपालिकाकाे शिक्षा समितिको बैठकले विद्यालयमा सुरक्षा मापदण्ड पालना गर्दै विभिन्न नियमअनुसार विद्यालय संचालन गर्न सकिने कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

शिक्षा समितिको बैठकले हाललाई विद्यालय संचालनका लागि दुई चरणको प्रस्तावना ल्याएको छ । पहिलो चरणमा असाेज ११ गते आइतबार देखी असाेज २५ गते आइतबारसम्म कक्षा १ देखि कक्षा १२ सम्म जोर बिजोर गरी २ सिफ्ट अथवा ३ सिफ्टमा पठन पाठन संचालन गर्न सकिने नगरपालिकाको शिक्षा समितिको बैठकले निर्णय गरेको छ ।

शिक्षा समितिको बैठकको निर्णय अनुसार विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म बिहान ११ बजे देखि २ बजेसम्म कक्षा संचालन गर्न सकिने छ । त्यस्तै कक्षा ६ देखि कक्षा १२ सम्म बिहान ७ बजे देखि १० बजेसम्म र अावश्यकता अनुसार दिनको ३ बजे देखि ६ बजे सम्म संचालन गर्न सकिने छ । स्कुलमा पठन पाठन सुरू गर्नु अघि विद्यालयले अभिभावकसँग विद्यार्थीलाई बैकल्पिक सिकाई अथवा स्कुलमा पठन पाठन गर्न पठाउने सहमति लिनु पर्ने छ । विद्यार्थीलाई विद्यालयमा १ दिन पठन पाठन गराई २ दिनको लागी गृहकार्य गर्न अभिप्रेरित गर्नेगरि बढीमा हप्ताको ३ दिन मात्र विद्यालयमा पठन पाठन गराउनुपर्ने बैठकले निर्णय गरेको छ ।

बैकल्पिक सिकाईबाट अभिभावकले आफ्ना नानी, बाबुलाई पठन पाठन गराउन चाहेमा त्यस्ता विद्यार्थीलाई समेत अभिभावक मार्फत गृहकार्य दिन सकिनेछ । अभिभावकले विद्यालयमा पठन पाठन गर्न पठाउने विद्यार्थीलाई कोभिड १९ का लागी स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गराई मात्र पठाउनुपर्ने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

संस्थागत विद्यालय र सामुदायिक विद्यालयले विद्यालयमा स्यानिटाइजेसन गरी कोभिड १९ रोकथामका सबै मापदण्ड पुरा गर्नु पर्ने छ । संस्थागत विद्यालयले पठन पाठन गराउदा कोभिड १९ रोकथाम गर्दा लाग्ने खर्च समेत अतिरिक्त शुल्क अनुरुप विद्यार्थी मार्फत् लिन सक्ने छ । सामुदायिक विद्यालयको हकमा भने कोभिड १९ रोकथाम गर्दा लाग्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेछ । संस्थागत विद्यालयलाई कोभिड १९ रोकथामका लागि सम्भव भएसम्म स्वास्थ्यकर्मी राख्न समेत शिक्षा समितिको बैठकले प्रस्ताव गरेको छ।

दोस्रो चरणको कार्यक्रम भने कागेश्वरी मनोहरा नगरपालिकाले दशै तिहार पछि ल्याउने छ । संघिय सरकारले गरेको परिपत्र अनुसार विद्यालय संचालन गर्ने गरि कार्यपालिकामा निर्णयार्थ पेश गर्ने निर्णय शिक्षा समितिको बैठकको रहेको नगर प्रमुख थापाले जानकारी दिनुभयाे ।

[sidebar name="button post"]