अनिता धिताल
पहिले पिठो बनाउन पानी घट्टको प्रयोग गरिन्थ्यो । अहिले ती घट्ट आधुनिक मिलले बिस्थापित गरे । लोकप्रिय पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । घट्ट चलाउनेहरु कतिपय कामबिहिन भएका छन् । आयस्रोतको बाटो बन्द भएको छ । कसैले अरु नै पेशा थालेका छन् । देशको राजधानी काठमाण्डौमा पनि पानी घट्ट चलाउनेहरु थिए ।

थोरैको संख्यामा अहिले पनि भेटिन्छन् । काठमाण्डौको शंखरापुर नगरपालिका लप्सेफेदी वडा नम्बर ४ मा पानी घट्ट चलाएर जीवन गुजारा गरिरहनु भएका शेरबहादुर श्रेष्ठको अनुभव सहित कथाब्यथा समेटेका छौ ।
पहिलाको अवस्था
करिब १२ वर्षदेखि श्रेष्ठले घट्ट चलाएर आफ्नो गुजारा चलाइरहनु भएको छ । उहाँ भन्नुहुन्छ,‘पहिला निकै राम्रो आम्दानी हुन्थ्यो । अन्नबाली पिसेर पिठो बनाउन लप्सेफेदी मात्रै होइन, टाढा टाढा बाट मानिसहरु आउँथे । दिन भरी लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ र मकै पिसेर लैजाने गर्थे । यहाँका मात्रै होइन, बौद्ध, जोरपाटी, नाङलेभारे र भक्तपुरको ठिमीबाट पनि मान्छेहरु आउने गरेका थिए । अहिले अब त्यो समय रहेन ।’

यो अवस्था आउनुको कारण
पछिल्लो समयमा परम्परागत घट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको विकासले परम्परागत घट्ट ओझेलमा परेको हो । छिटो छरितोका लागि विद्युतीय मेसिन प्रयोगमा आएपछि अहिले घट्टको प्रयोग कम हुन थालेको छ । परम्परागत कतिपय घट्ट लोप भइसकेका छन् भने कतिपय घट्टहरु लोप हुने अवस्थामा पुगिसकेका छन् । अहिले गाउँगाउमा पनि बिजुली पुगिसकेको छ ।
विद्युत विस्तार, सडक सञ्जालको पहुँच र आधुनिक मेसिनहरु गाउँमा पुगेपछि ग्रामिण भेगका नागरिकको आकर्षण विद्युतीय घट्टमा छ । त्यसैले परम्परागत पानी घट्टको प्रयोग घट्दै गएको छ ।
सम्झनामै रहे ती दिन
उ बेला घट्टमा पिठो बनाउन भ्याइनभ्याइ हुन्थ्यो । त्यति बेला दिन रात नभनी काम गर्नु पर्दथ्यो । खाने समेत फुर्सद हुँदैनथ्यो । घट्टमा पिसेको पिठोको रोटी खाएर काम गर्नुपर्ने अवस्था थियो । ती दिनहरु सम्झँदा अहिले अचम्म लाग्छ ।
अहिले के छ ?
पहिला चाडपर्व, विवाह, ब्रतबन्ध आउँदा दिन रात नभनी पिठो पिस्ने श्रेष्ठ अहिले आधुनिक मेसिनको कारण परम्परा नै हराएको बताउनुहुन्छ । अहिले जताततै आधुनिक मेसिनहरु छन् । उहाँले घट्ट राखेको ठाउँ वरपर पनि २ ओटा आधुनिक मिल रहेका छन् ।
पानी घट्टमा पिठो पिस्न समय लाग्ने र मिलमा छिटो छरितो हुने भएकाले पनि मानिसहरु घट्टमा आउन छाडेका छन् । श्रेष्ठ भन्नुहुन्छ,‘घट्टमा पिसेको पिठो आधुनिक मेसिनमा पिधेको भन्दा पोषिलो र स्वादिष्ट हुन्छ । जसले बिगतमा यसैगरी पिसेर खाने र स्वाद जाने उनीहरु पिस्न ढिला हुने भएपनि मकै, गहुँ, कोदो लगाएतका अन्न घट्टमा नै पिस्न आउने गरेका छन् । यसमा पिसेको पिठो ६ महिनासम्म पनि केही नहुने र आधुनिक मिलमा पिसेको केहि दिनमा नै बिग्रने गरेको पाइन्छ ।
खास गरि अहिले सुगरको बिरामी भएका र बच्चाहरुको लागि लिटोको पिठो, सातु, मकैको पिठो पिस्न विशेष गरेर आउने गरेका छन् । पिठो पिस्न आउनेहरुले ज्यालामात्र नभएर अहिले ज्यालाका रुपमा पैसा पनि दिने गरेका छन् । उहाँले मकै १ पाथीको १० रुपियाँ र गहुँको १५ रुपैयाँ लिने गर्नुभएको छ ।

घट्यो आम्दानी
पहिलाको तुलनामा अहिले निकै कम आम्दानी हुने घट्ट सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । पहिला १२ पाथीसम्म हुन्थ्यो भने अहिले दिनमा २ पाथी जति मात्रै कमाइ हुन्छ । उहाँ भन्नुहुन्छ,‘पहिला त घट्टबाट कमाइ हुने पिठोले आरामसँग घर परिवार चलाउन सकिन्थ्यो तर अहिले गुजारा चलाउनै धौ धौ छ ।
तर पानी घट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो नै छ, पानीको फोहोराबाट नै यो चलाउन सकिने भएकाले धेरै खर्च लाग्दैन ।
परम्परागत घट्ट जोगाउनुपर्छ
छिटो र सहजका लागि आधुनिक मेसिनतर्फ आकर्षण बढेको देखिन्छ । नयाँ पुस्ताहरुले मौलिक प्रविधि संरक्षणमा चासो नदेखाएकाले पनि घट्टको लोप हुन थालेको श्रेष्ठ बताउनुहुन्छ । परम्परागत पानी घट्ट संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ ।
‘स्थानीय सरकार र अहिलेको नयाँ पुस्ता कसैको ध्यान पुग्न नसकेको गुनासो गर्दै श्रेष्ठ भन्नुहुन्छ,‘मौलिक र हाम्रो परम्परा झल्किने कुटानी पिसानी गर्ने स्थानीय स्रोत साधनहरुलाई स्थानीय निकाय तथा सरकारले जोड दिने, यसको संरक्षण गर्ने र प्रवद्र्धन गर्ने काममा ध्यान दिन जरुरी छ ।’













