पहिरोको उच्च जोखिममा रहेका चार गाउँ स्थानान्तरण गर्न सिफारिस

पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ स्थानान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही, कानुनीमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावलसहितको उपस्थितिमा बसेको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकले भिरालो र पहिरोको उच्च जोखिममा रहेका जुम्लाका चार गाउँ स्थानान्तरण गर्न सिफारिससहितको निर्णय गरेको हो ।

तिला गाउँपालिका–७ को घोडेसिन, हिमा गाउँपालिका–६ खलढुङ्गा, पातारासी गाउँपालिका–३ चौरगाउँ र चन्दननाथ नगरपालिका–८ को जातिभीड गाउँलाई स्थानान्तरण गर्न सङ्घीय शहरी विकास मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।

नेपाल सरकारको जोखिमयुक्त बस्ती स्थापना तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ अनुसार जोखिम बस्तीलाई सुरक्षित गर्नका लागि स्थानान्तरण गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]