कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?- चिया किसान

असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् ।

हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनु पर्ने प्रावधान स्थानीय सरकारले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् ।

नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् कि पहिले ‘पेश्की’ भन्दै किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिनेसमेत गरेका छन् । यसैले किसान उद्योगीसँग आजित भएका छन् ।

कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमलमा छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । “कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने “ सूर्योदय–१० की साधना फागो भन्नुहुन्छ, “आन्दोलन गरेरै समय जाने रहेछ ।”

नगरका अधिकांश किसानले आन्दोलनको शुरुमा त चिया नै उद्योगीलाई दिएका थिएनन् । उद्योगीले प्रतिबद्धता गरेर उचित मूल्य दिन्छौँ भनेपछि फेरि किसानले उद्योगसम्म चिया पुर्याए तर समस्या ज्युँका त्युँ छ । एक महिनाअघि आन्दोलन निष्कर्षमा पुग्न लागेको बताएका किसान एकाएक पछि सर्दै अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

किसान, उद्योगी, नगरपालिका र चिया तथा कफी विकास बोर्डले किसानको समस्याको हल गर्न व्यावहारिक प्रयत्न नगर्दा समस्या नसुल्झिएको नगरपालिकाका किसान सुवास राई बताउनुहुन्छ । उहाँले किसानको समस्या हल गर्न सबै क्षेत्र मुखमा मुख मिलाए पनि व्यवहारमा भने किसानमैत्री नदेखिएको राईको दुखेसो छ ।

“हाम्रा पक्षमा सबै पक्ष लागिदिने हो भने कसरी समस्याको समाधान हुँदैन ” आक्रोशित स्वरमा भन्नुभयो, “कानूनको कार्यान्वयन हुन सक्दैन भने नगरपालिकाले मापदण्ड किन बनाएको ” सूर्योदय नगरपालिकाको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा ‘४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिनेछ’ भनिएको छ ।

नगरको कार्यविधिअनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४० मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डानुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ तर नगरपालिका–१० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्डअनुसारकै चिया ल्याउने गरेको बताउनुहुन्छ ।

“उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो”, काजीले भन्नुभयो, “उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अनुसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसमेत धाइसकेका छन् ।

काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोख्नुभयो । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन् । सक्दैनन्, चिया नै फिर्ता देऊ भनेका छौँ ।”

पहिले तोकिएको मूल्य दिने भन्ने अनि व्यवहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ । नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानूनविरुद्ध गइरहेका छन् तर नगरले यसबारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ ।

नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

[sidebar name="button post"]