बैतडीमा स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।
सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ ।
भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिनुभयो ।
स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी मलाई काम गर्न निकै असहज भएको छ । अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु । यसपछि के हुन्छ । त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।”
ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदका अनुसार स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ । उहाँले भन्नुभयो, “हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने तयारी गरेका थियौँ, तर स्वाब सङ्कलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ ।”
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख साउँदले बताउनुभयो । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रमा लिन प्रहरी टोली गएको छ ।”
स्थानीय तहमा स्वाब सङ्कलन कार्य भइरहेको छ । अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।









