गुनासोलाई सकारात्मक रुपमा लिएर क्रमश समाधान गरिरहेका छौँ , स्रोत र साधनको व्यवस्था मिलाउँदै गुनासो भएका क्षेत्रमा कार्यरत नै छौँ

कृष्ण वाग्ले

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा वडा छन् । तीमध्ये एउटा वडा ६ को बारेमा यो अंकमा चर्चा गर्छौ । यसअघि हामीले वडा १ देखि ५ सम्मका भैरहेका विकास निर्माण र कोरोना महामारी नियन्त्रण तथा रोकथामका प्रयासबारेको जानकारी राखिसकेका छौ । आज वडा ६ का अध्यक्ष प्रकाश फुँयालसँग कुराकानीमा हुनुहुन्छ, कागेश्वरी खबरका सहकर्मी कृष्ण वाग्ले ।

सुरुमा चासो छ, वडाका विकास निर्माण साथै सेवा प्रवाह र कामकारवाहीबारेको ?

तपाईंको जस्तै चासो हाम्रा वडाबासीको पनि पक्कै छ होला । यसरी वडाका समसामयीक विषय, विकास निर्माणबारे चासो राख्नुभएकोमा धन्यवाद । हामीले मात्रै होइन पालिकाका सबैजसो जनप्रतिनिधिले विकास निर्माणमा ध्यान केन्द्रित गर्नुभएको छ । समाज विकासक्रममा अघि बढ्दै जाँदा सडक नै सबै भन्दा महत्वपूर्ण पूर्वाधार रहेछ भन्ने प्रस्ट छ । त्यसैले विशेष प्राथमिकतामा सडक परेको छ ।

तीनवर्षमा सडक निर्माणको काममा नै सकृय भयौ । मुख्य सडकहरु बनिसके, केहि बन्दै छन् । मुलपानी स्टेडियमबाट फुँयाल गाउँ जाने ९० मिटर उकालो पनि २४ लाख रुपैयाँको बजेटले भर्खरै सम्पन्न भएको छ । अब स्टेडियमबाट बाबाचोक जाने ओरालोमा ढलानको लागि काम भैरहेको छ । कोरोनाको संंकट नपरेको भए अझै धेरै काम हुन सक्थे । तर पनि यो साल थालिएका बाटाहरु ८०, ९० प्रतिसत सम्पन्न भैसकेका छन् ।

भौतिक पुर्वाधार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान दिइएको छ । शिक्षा क्षेत्रलाई सुधार्न अनुगमन गरिएको छ । सो कार्यलाई निरन्तरता दिन आवश्यक समिति पनि गठन गरिएको छ । तर अहिले कोरोनाका कारण अरु सबै अस्तब्यस्त जस्तै छ । विद्यालय बन्द छन् । सबै ध्यान कोरोना महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापनमै केन्द्रित छ ।

कोरोना महामारी रोक्न के गर्नुभयो ? संक्रमण जोखिम थप बढ्दो छ ।

सरकारले चैतमा लकडाउन गर्यो । तर साउनमा लकडाउन हटेपछि कोरोना संक्रमण बढ्यो । जोखिम बढ्दो छ । अब पालिकाले कोरोना महामारी रोक्न र व्यवस्थापनमा आवश्यक पहल गरेको छ । हामीले वडाभित्र मुलपानीमा मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण र व्यवस्थित क्वरेण्टीनबाट सेवा दिएको जानकारी गराउन चाहन्छु ।

यसअघि कोभिड–१९ रोक्न र लकडाउनका बेला मुख्य काम के भयो ?

कोभिड–१९ को महामारी अझै पनि डरलाग्दो गरी फैलदो छ । तर सुरुवाती चरणमा हामीले २० जना युवा परिचालन गरी विपन्न वर्ग पहिचान गरि बिहान बेलुका दुई छाक खानाको व्यवस्था गर्यौ । त्यो काम झण्डै एक महिना निरन्तर भयो । वडाकै सकृयतामा विपन्न वर्गलाई राहतका प्याकेज तथा रासन कुपनको वितरण पनि भयो ।

वडाले एक महिना सम्म चलेको दुई छाक खानाको व्यवस्था कार्यमा सकृय २० जना युवाको टोलीको कोरोनाको निःशुल्क परिक्षण भयो । अब अहिले पनि निरन्तर रोगको नियन्त्रण, परिक्षण लगाएतका काम भैरहेका छन् ।

जनप्रतिनिधी भएर काम गर्ने क्रममा यो बिचमा अरु के कस्ता समस्या आए ?

जनप्रतिनिधी भएर काम गर्ने क्रममा कोरोनाले समस्या नै निम्तायो । सडक निर्माणमा समस्या आए । यसपाली अत्याधिक वर्षाका कारण थुप्रै ठाउमा पहिरो गएर स्थानीयबासिन्दा विस्थापित हुनुपर्ने अवस्था पनि आयो । किक्रेट मैदान निर्माणमा ढिलाइ पनि भैरहेको छ ।

वडा ६ मुलपानीको अन्तराष्ट्रिय स्तरको किक्रेट स्टेडियम बनाउने योजना भएपनि त्यो स्तरको बन्न सकेको छैन । कोरोनाका कारण नगरपालिकामा राजस्व संकलनमा बाधा आयो । कतिपय ठेक्कापट्टा भैसकेका र बाँकि रहेका पुर्वाधारका कार्य रोक्किएका छन् । सडक निर्माणमा पनि समस्या नै छ ।

दुई वर्ष अघि थालिएको मुलपानी पिपलबोट बाट डाँछी नेपाल टेलिकममा निस्कने मनोहरा मार्गको काम रोकिएर मनोहरा मार्ग अलपत्र परेको छ । मार्ग निर्माणमा ठेकेदारको लापरवाही र स्थानीय बासिन्दाको किचलो छ । सकेसम्म मिलाउने कोसिस गरेका छौ ।

अघि यसपाली मनसुनले दुःख दियो भन्नुभयो, के भयो ?

विगतमा भन्दा यसपाली पानी धेरै परेको छ । त्यस कारण पहिरोले पनि स्थानियलाई समस्यामा पार्यो । विभिन्न ८, १० ठाउँमा पहिरो पनि गयो । नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट वडाकै सकृयतामा पहिरो व्यवस्थापनका लागि क्षतिग्रस्त स्थलमा प्लास्टिक विछ्याउने कार्य भएको तर राहत रकम वितरण गर्ने निर्णय भएको छ ।

वडाले दिने सेवाहरु के के छन् ?

वडाबाट मुख्यतः सिफारीस गर्ने, बाली तिर्ने, नक्सापास गर्ने, घटना दर्ता गर्ने जस्ता कार्यहरु वडाका सेवाहरु हुन् । स्थानियलाई नअलमल्याई, समस्या नदेखाइ कसरी हुन्छ विश्वासमा लिएर सम्बन्धितकार्यको लागि आवश्यक कागजपत्रको आधारमा छिटोछरितो सेवा प्रदान गरिन्छ । अहिले कोरोनाको परिक्षण गर्न चाहानेलाई सिफारीस पनि गरिन्छ । वडा ६ मुलपानीमा मुलपानी प्राथमीक स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण र क्वारेन्टिनको व्यवस्था मिलाइएको छ ।

वडा ६ मा स्थानीयको गुनासो के कस्ता आउँछन्, जनप्रतिनिधि भएर ती गुनासालाई कसरी संबोधन गर्नुभएको छ ?

स्थानियबासिन्दा र सेवाग्राहीको गुनासो त धेरै आउँछन् । कहिले समय अनुकुल नहुँदा त कहिले परिस्थीतीले काम ढिला हुन जान्छ । सडक निर्माणमा ढिलाइ भैरहेको छ । पहिरोका पिडितले राहतको रकम पाइसकेका छैनन् । पहिरोको क्षति व्यवस्थापनमा वडा कार्यालय कार्यरत नै छ ।

एक एक गरि समस्या समाधान गर्ने क्रममा गुनासो त आइहाल्छन् । तर गुनासोलाई सकारात्मक रुपमा लिएर क्रमश समाधान गरिरहेका छौँ । स्रोत र साधनको व्यवस्था मिलाउँदै गुनासो भएका क्षेत्रमा कार्यरत नै छौँ । यस वर्ष नसके अर्को आर्थिक वर्षमा भएपनि स्थानियको माग पक्कै पुरा हुनेछन् ।

अन्त्यमा वडाभित्र अबका के कस्ता योजना छन् ?

हामी विकास निर्माण र सेवा प्रवाह चुस्त बनाउन लागिपरेका छौ । मुलपानीचौरमा बहिरी फिटनेस उपकरण जडान गरिदैछ । १५ लाखको उपकरण वडाकै पहलमा स्थानियाका लागि नगरपालिकाले जडान गर्न लागेको हो ।

वडामा हुने कार्य कसरी सहज बनाउन सकिन्छ भनेर बहस भैरहेको छ । स्थानियले घरै बसेर वडाका सेवा सुबिधा लिने र बिल भुक्तानी गर्न मिल्ने सम्मको योजना भैरहेको छ । वडाबाट प्रदान गरिने सेवा अझै प्रभावकारी बनाउँदै लैजाने प्रयास जारी छ । प्रविधि र आधुनिक रुपमा सेवालाई विस्तार गर्ने वडाको मान्यता भएकोले वडामा डिजिटल सेवा ल्याउनको लागि पनि बहस भैरहेको छ ।

[sidebar name="button post"]