नगरवासीलाई शुद्ध पानी खुवाउन अदालतको आदेश

उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ ।

मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो ।सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध खुवाउनसमेत आदेश दिएको हो ।

शुद्ध पानी खुवाए नखुवाएका बारे प्रमुख जिल्ला अधिकारी र बागलुङ नगरपालिकाले अनुगमन गर्न पनि आदेश दिइएको छ । अदालतले १० दिनभित्र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई लिखित जानकारीसमेत पेश गर्न भनेको छ ।

दुई महिनादेखि बागलुङ नगरमा नियमित पानी वितरण भएको छैन । वितरण भएको पानीसमेत नाली र खेतको पठाइएको थियो । उपभोक्ताले हिलाम्मे पानी खानुपरेपछि हैरानी थिए । उक्त समस्यापछि अधिवक्ता रमेशबहादुर खड्काले नगरवासीलाई शुद्ध पानी खुवाउन, गैरकानूनीरूपमा सञ्चालित संस्थाहरू खारेजीलगायतको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

मङ्गलबार मुख्य भई काम गर्ने न्यायाधीश मोहनबहादुर कार्की र न्यायाधीश द्वारिकामान जोशीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । मङ्गलबार रिट निवेदनको तर्फबाट अधिवक्ता खड्कासहित राम शर्मा, हरिकृष्ण गौतम, अखिलनाथ शर्मा र बद्रीप्रसाद शर्माले बहस गर्नुभएको थियो ।

जिल्ला प्रशासनको तर्फबाट सहन्यायाधीवक्ता डा गोपीचन्द्र भट्टराई, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, काजीगाउँले श्रेष्ठ र भूमिश्वर गौतम तथा बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता हरिप्रसाद शर्माले बहस गर्नुभएको थियो ।

[sidebar name="button post"]