क्षतिपूर्तिको माग गदै परिवारले शव बुझ्न मानेनन्

सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

सोमबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका–२ देहीमाडौँका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको दुई दिनसम्म पनि शव परिवारजनले बुझेका छैनन् ।

सडकमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवैको मृत्यु भएकाले आफन्तले क्षतिपूर्तिको माग गरेका हुन् ।दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घरपरिवारले रु २० लाख क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेको हो ।

देहीमाडौँ–गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।

मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने बताइएको छ । उक्त सडक प्रदेश सरकारको सहयोगमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले स्तरोन्नतिको काम गरिरहेको हो ।

ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षात्को पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपराह्न ४ः३० बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो ।

[sidebar name="button post"]