बेनी नगर कार्यपालिका देखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधन चल्न सकेका छैनन् ।
विसं २०६७ मा ट्याक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधि नै सन्तुष्ट हुन सकेका छन् ।
सडक मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ । पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासीको भनाइ रहेको छ ।
ज्यामरुककोटका कृष्णबहादुर सुवेदीका अनुसार नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो बाटोको स्थायित्व भएको छैन ।
सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार वटा सडक बनाइएको भएपनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । “बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा समेत बाटो बिग्रने गरेको छ”, सुवेदीले भन्नुभयो । विसं २०६७ यता बेनी भकुण्डे सडकमा करिब ७० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ ।
गत आर्थिक वर्षमा बेनी–बौर–ठूलोगैरा–खबरा –भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल रु २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ ।
बेनी नगरपालिका२ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताउनुभयो ।









