साउन २७, सरकारले चाडपर्वमा परिवारका सदस्य बाहेक अरु जमघट नगर्न निर्देशन दिएको छ । धार्मिक स्थलहरु नित्यपूजाको लागि मात्रै खोल्ने र भक्तजनको प्रवेश निषेध गर्न सरकारले निर्देशन दिएको हाे । चाडपर्वमा पनि परिवारका सदस्य बाहेक अरुको जमघट नगर्न मन्त्रीरिषद्को बैठकले निर्देशन दिएको छ ।
गएको २२ गते स्वास्थ्य मन्त्रालयले चाड पर्व सुरु हुन लागेको भन्दै चाडपर्व र उत्सव सम्बन्धि मापदण्ड ल्याएको थियो । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने परिवारका व्यक्ति बाहेक अन्य सँग भेटघाट कम गर्ने र भेटघाट गर्ने परेमा कम्तिमा २ मिटरको दूरी कायम गर्न भनेको छ ।
यस्तै सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र जानै परेमा सहभागि हुँदा मास्क अनिवार्य लगाउने, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै, धार्मिकस्थलमा हुने हरेक भेला कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुन, टाढैबाट नमस्कार गर्न, रेलिङ, देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिले प्रयोगमा ल्याउन सक्ने सामग्री नछुन पनि सचेत गराएको छ । खोक्दा वा हाँछ्यू गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्न सम्भव नभए कुहिनो दोब्यएर मुख छोप्ने गर्नु पर्छ ।
सार्वजनिक ठाउँमा जताभावि नथुक्ने र ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएकाहरुलाई कार्यक्रममा भेला नहुन स्वास्थ्य मन्त्रालयको मापदण्डमा उल्लेख छ









