काठमाडौं उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने

काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले आफूले दिने अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा सङ्क्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म फेरि रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

काठमाडाैं उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने विन्दुहरूमा अत्यन्त कडाइ गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ।

[sidebar name="button post"]