नेपाल आयल निगमको प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया उपयुक्त जग्गा अभावले अघि बढ्न सकेको छैन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाए पनि तीन वर्षदेखि प्रक्रिया शुरु हुन नसकेको हो ।
गत वर्ष सुर्खेतको वीरेन्द्रनगर–११ स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिघा जग्गामा निगमले इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । उक्त जग्गा बस्तीदेखि टाढा भए पनि समथर नभएको, नदी किनारमा भएको, भूक्षय तथा पहिराको खतरा रहेकाले विकल्पको खोजी भइरहेको निगमका प्रादेशिक कार्यालयले जनाएको छ ।
सबै प्रदेशमा कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने नीति सरकारले तीन वर्षअघि नै ल्याएको थियो । अन्य प्रदेशको तुलनामा कर्णालीमा इन्धनको माग कम छ । यहाँ हाल दैनिक दुई लाख ४० हजार लिटर डिजेल र ५० हजार लिटर पेट्रोलको खपत छ । प्रदेशभर १३ वटामात्र पेट्रोल पम्प छन् ।
आयल निगमको सुर्खेत डिपोमा हाल ४५ हजार लिटर मट्टीतेल र ६० हजार लिटर हवाई इन्धनमात्र अट्ने क्षमता छ । वार्षिक झण्डै तीन लाख लिटर मट्टीतेल बिक्री हुँदै आएको छ । हवाई इन्धन सात दिनलाई मात्र पुग्ने गरेको छ ।









