मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित

२५ असोज, कावासोती । मौसममा सुधार नआउँदा पूर्वी नवलपरासीका कृषक चिन्तित भएका छन् । गत बुधबारदेखि अविरलरुपमा भएको वर्षा शुक्रबारदेखि रोकिँदा राहत महसुस गरेका कृषकमा आइतबार रातिदेखि वर्षा हुन लागेपछि चिन्ता थपिएको छ ।

जिल्लाको अधिकांश किसानका खेतमा धान पाकेर काट्ने अवस्थामा पुगेको भए पनि मौसममा सुधार नआउँदा समयमै धान भित्र्याउन नपाइने पीरले कृषकलाई सताएको छ । एक बिघा खेतमा धान काट्ने बेला भए पनि मौसममा सुधार आउन नसकेपछि धान काट्न नसकिएको कावासोती– १३ का कृषक चेतनारायण चौधरी बताउनुहुन्छ ।

जिल्लाको देवचुली, गैँडाकोट, कावासोतीलगायतका स्थानमा लगातार वर्षाका कारण पाकेको धानका बोट खेतमै ढलेको छ । खेतमा ढलेका धानका बाला बोटमै उम्रने चिन्ताले सताएको देवचुली– १५ का कृषक वसन्त पोख्रेल बताउनुहुन्छ ।

धान पाक्ने बेलामा परेको बेमौसमी वर्षा र त्यसपछिको बाढीले जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाको बगुवन र सिसेनीमा करिब दुई सय ५० बिघा पाक्न लागेको धान डुबाएको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “कृषकको चिन्ता स्वाभाविक हो, अहिलै त बिग्रेको छैन तर मौसममा छिट्टै सुधार नआए समस्या हुन सक्छ”, लामिछानेले बताउनुभयो ।यस वर्ष जिल्लामा १८ हजारभन्दा धेरै क्षेत्रमा धानखेती गरिएको भए पनि बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आउनसक्ने प्रमुख लामिछानेले बताउनुभयो ।

[sidebar name="button post"]