लाल मोहम्मद हत्या काण्डमा पक्राउ परेका तीनजना सार्वजनिक

१४ असोज, काठमाडौं । काठमाडौं प्रहरी परिसरले गोठाटारमा लाल मोहम्मद हत्या काण्डका आरोपित तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन् ।

हतियार व्यवस्थापनको काम महोरम र रेहान मियाँले गरेको र उक्त हतियार वीरगञ्जबाट काठमाडौं पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् ।

असोज ३ गते मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुई जनाले हतियारधारीसहित गोली प्रहार गरेका थिए । गोली लागी घाइते भएका उनलाई शंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारको क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो ।

[sidebar name="button post"]