Ad #144479

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप लगाएका छन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाएका हुन्।

प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको बिरुद्धमा भएको भन्दै ओलीले प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए । उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको बताए ।

‘प्रधानन्यायाधीश पदबाट नहट्दै, कुनै अभियोग पुष्टि भएको छैन, त्यस्तो बेलामा प्रहरी लगाएर, राज्य लगाएर, राज्यको शक्ति लगाएर नजरबन्दमा राख्नु, छेकथुन गर्नु अराजकताको पराकाष्टा हो’, उनले भने, ‘यो सरकारको खोपडीले काम गर्न छोड्यो। यो स्वेच्छाचारिता अव्यवहारिक काम जो कुनै नागरिकमाथि आइपर्न सक्छ। प्रधानन्यायाधीशको सुरक्षा खोसियो? कुन कानूनका आधारमा खोसियो? गृहमन्त्रीको तजबिजी कानून, यो देश गृहमन्त्रीको घरबाट ल्याएको देश हो? मनपरी गर्ने देश हो? गृहमन्त्रीको पदमा २-४ महिना कोही व्यक्ति पुग्यो भन्दैमा मनपरी गर्ने देश हो यो? कुन कानूनले यो काम गर्दै हुनुहुन्छ ? कुन कानूनले प्रधानन्यायाधीशलाई बिना पक्राउ पूर्जी नजरबन्दमा राख्नुहुन्छ प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।’